सर्लाही, ०४ भदाै । राष्ट्रिय वाणिज्य बैंक र नेपाल प्रहरीबिच तलबी बचत खाता सञ्चालन तथा कर्जा प्रदान गर्नेबारे सहकार्य भएको छ ।

१० वर्षदेखि यस बैंकमा नेपाल प्रहरीका कर्मचारीको तलबी खाता सञ्चालन हुँदै आएको थियो । सम्झौता अवधि सकिएकाले सो कार्यलाई निरन्तरता दिन दुवै पक्षबिच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हस्ताक्षर गरे ।

त्यस्तै, तलबी खाता सञ्चालन, विनाधितो पेसाकर्मी सरल कर्जा लगानी र अवकाशप्राप्त कर्मचारीको आश्रित परिवारसमेतका लागि आवश्यक पेन्सन वितरण र कर्जा लगानीसम्बन्धी पाँच वर्षका लागि थप सेवासहित नवीकरण गरिएको बताइएको छ ।

पेसाकर्मी सरल कर्जा १५ लाख र पेन्सनर कर्जा पाँच लाख प्रदान गरिनेछ । त्यस्तै, बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर–सहिद र अशक्त प्रहरी कर्मचारीले नियमबमोजिम २० वर्ष अवधिसम्मको ५० लाखसम्म घर कर्जा १० वर्षसम्मका लागि सवारी कर्जा उपलब्ध हुनेछ ।

घर कर्जामा एक प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा एक प्रतिशत प्रिमियम ब्याजदर कायम हुने सम्झौतामा उल्लेख छ । यसैगरी, पाँच लाखको दुर्घटना बिमालगायतका सुविधा पनि हुने बताइएको छ ।

महानिरीक्षक कार्कीले उक्त सम्झौतामा बैंकलाई धन्यवाद दिए । यो सहकार्यबाट प्रहरी कर्मचारीलाई थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाशप्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा सुविधा प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

बैंकका सिइओ खनालले दुवै पक्षबिच बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *