सर्लाही, ०४ भदाै । मोबाइलको कभर र सिसा फेरेबापत ३५० रुपैयाँ भुक्तानी गरेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) तुल पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका छन् ।
आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार घोषणा गरिएको थियो । साउन महिनाको दोस्रो १६ दिनमा दैनिक एक–एक जना गरी १६ जना र सबै सहभागीमध्येबाट थप एक जनालाई बम्पर उपहारका लागि छनोट गरिएको थियो ।
त्यसमध्ये बम्पर उपहार पुडासैनीले जितेका हुन्। उनले हेटौँडास्थित गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा मोबाइलको कभर र सिसा फेर्दा गरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।
पुडासैनी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा प्रहरी नायब निरीक्षक पदमा कार्यरत छन् । उनको स्थायी घर बाराको सिमरा हो ।
अर्थ मन्त्रालयसँग कुरा गर्दै पुडासैनीले मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेपछि गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको बताए ।
‘मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेँ। गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ । त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ,’ उनले भने, ‘एकदमै खुसी लागेको छ । सबैतिरबाट बधाई आइरहेको छ ।’
उनले आफूले पाएको पुरस्कारले बिल लिने र दिने संस्कारको महत्व झनै बढाएको बताए । ‘सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ,’ उनले भने ।
पुडासैनीले सकेसम्म अनलाइनमार्फत कारोबार गर्न तथा हरेक कारोबारमा बिल लिन र दिन पनि आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले कर प्रणालीमा नागरिकको सहभागिता बढाउने तथा बिल लिने–दिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
