सर्लाही, ०५ भदाै । नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका ३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।
गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापी कार्यालयले हिजो उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
साबिक मिथलेश्वर महुवाही गाउँ विकास समितिले १ देखि ९ वडासम्म पर्ने गाउँ ब्लक जग्गाको नापनक्सा आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो ।
नापनक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अद्यावधिक, दर्ता तथा अन्य कानुनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए ।
नापी कार्यालयले नापनक्सा भइसकेका जग्गाको अभिलेख अद्यावधिक गरी दर्तासम्बन्धी प्रक्रिया अघि बढाएपछि ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको जनाएको छ ।
वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक स्वामित्वको प्रमाण पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
पुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व प्रमाणित गर्न सहज हुने तथा जग्गासम्बन्धी विभिन्न प्रशासनिक र आर्थिक कारोबार गर्न बाटो खुलेको स्थानीयबासिन्दाको भनाइ छ ।
नापी कार्यालयका प्रमुख उमेशकुमारले नापनक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँका अनुसार नापनक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्ण रूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
स्थानीयको सहभागिता, आवश्यक कागजात तथा अन्य प्रक्रिया पूरा हुँदै गएमा लामो समयदेखि बाँकी रहेका यस्ता विषयलाई क्रमशः टुङ्ग्याउँदै जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।
जग्गाधनी पुर्जा प्राप्त भएपछि सम्पत्तिको कानुनी अधिकार सुनिश्चित हुनाका साथै जग्गासम्बन्धी कारोबार तथा प्रशासनिक काममा पनि सहज हुने अपेक्षा गरिएको छ ।
