सर्लाही, ०५ भदाै । प्रदेशमा विद्युत् दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढदै गएको छ । पछिल्लो एक दशकमा ७ गुणाले संख्या बढेको तथ्यांकले देखाउंछ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म करेन्ट लागेर प्रदेशमा ५७४ ले ज्यान गुमाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार मृतकमध्ये ३७२ जना पुरुष, १११ जना महिला र ९१ जना बालबालिका छन् ।
प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा करेन्ट लागेर १७ जनाको मृत्यु भएको थियो । तर, २०८२/८३ मा आइपुग्दा यो संख्या बढेर ११७ पुगेको छ ।
यसरी हेर्दा एक दशकको अवधिमा करेन्टबाट हुने मृत्यु झन्डै सात गुणाले बढेको हो । गत आर्थिक वर्षमा मात्रै करेन्ट लागेर ७२ पुरुष, २२ महिला र २३ बालबालिकाले ज्यान गुमाएका छन् ।
सोही घटनामा नौ जना पुरुष घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तथ्यांकले बालबालिका करेन्ट दुर्घटनाको झनै जोखिममा रहेको देखाएको छ।
२०७३/७४ मा दुई बालबालिकाको मृत्यु भएकोमा २०८२/८३ मा यो संख्या बढेर २३ पुगेको छ। अर्थात् बालबालिकाको मृत्यु संख्या करिब ११.५ गुणाले वृद्धि भएको हो ।
त्यस्तै, पुरुषको मृत्यु संख्या पनि उल्लेख्य रूपमा बढेको छ। २०७३/७४ मा करेन्ट लागेर नौ पुरुषको मृत्यु भएकोमा गत आर्थिक वर्षमा यो संख्या ७२ पुगेको छ। महिलातर्फ भने सोही अवधिमा मृत्यु संख्या ६ बाट बढेर २२ पुगेको प्रहरीको तथ्यांक छ ।
नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भु कुसियैत यादवले जनकपुर टुडेसँग कुरा गर्दै भने ‘विद्युत् दुर्घटना बढ्नुमा मुख्यतः असावधानी र लापरवाही हो ।
मृत्यु हुनेमा अधिकांश किसान रहेका छन् । सिँचाइका लागि विद्युत् प्रयोग गर्ने क्रममा हुने असावधानीका कारण दुर्घटना बढिरहेको छ ।’
खेतमा सिँचाइका लागि लगिएका विद्युत् तार मुसाले काट्ने, तार लुज हुने वा अन्य कारणले क्षति पुग्ने गरे पनि त्यसको अवस्था जाँच नगरी मोटरमा विद्युत् प्रवाह गर्नु, राति वा दिनको समयमा सिँचाइ गर्ने काम गर्नु लगायतका असावधानीले दुर्घटना बढेको उनको भनाई छ ।
यादवले विद्युत् अत्यावश्यक सेवा भएपनि यसको प्रयोगमा सामान्य असावधानी र लापरवाहीले ज्यान जान सक्ने भएकाले उपभोक्ता सचेत भएर विद्युत प्रयोग वा सञ्चालन बारे जनचेतना फैलाउँदै आएको छ र विद्यालयस्तरमा समेत सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको जानकारी दिए ।
करेन्ट लागेर मृत्यु भएका सबै घटनामा क्षतिपूर्तिको व्यवस्था नरहेको उनले प्रष्ट पारेका छन् । यादवले भने प्राधिकरणको गल्ती वा लापरवाहीका कारण दुर्घटना भएको पुष्टि भएमा मात्रै प्राधिकरणले क्षतिपूर्ति व्योहर्ने हो, अन्य लापरवाही वा असावधानीको अवस्थामा उपभोक्ता स्वयं जिम्मेवार भएकाले क्षतिपूर्ति दिइदैन ।
