सर्लाही, ०५ भदाै । मधेश प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी तथा स्वास्थ्य संस्थामा लामो समयदेखि काजमा कार्यरत १४ जना स्वास्थ्य अधिकारी तथा चिकित्सकको काज फिर्ता गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूलाई काजबाट फिर्ता गर्दै दरबन्दी कायम रहेको कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
मधेश प्रदेश सरकार गठनपछि एकै पटक ठूलो संख्यामा स्वास्थ्यतर्फका कार्यालयका कार्यालय प्रमुख तथा चिकित्सकको काज फिर्ता गरिएको छ ।
यसरी ठूलो संख्यामा कार्यालय प्रमुखहरुलाई काज फिर्ता पहिलोपटक भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल तथा मन्त्रालय र अन्य सरकारी निकायमा लामो समयदेखि काजमा रहेका कर्मचारीलाई उनीहरूको दरबन्दी रहेको कार्यालयमा पठाउने निर्णय गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयमा करिब डेढ वर्षदेखि काजमा कार्यरत ११औँ तहका स्वास्थ्य शिक्षा प्रशासक सरोजचन्द्र न्यौपानेलाई उनको दरबन्दी रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयामा काज फिर्ता गरिएको छ ।
त्यस्तै, १०औँ तहका वरिष्ठ स्वास्थ्य सहायक डा. नवलकिशोर झालाई स्वास्थ्य कार्यालय सर्लाहीबाट फिर्ता बोलाएर प्रदेश स्वास्थ्य निर्देशनालयमा काज फिर्ता गरिएको छ ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयदेखि काजमा रहेका ९औँ तहका इन्टर्नल मेडिसिन विशेषज्ञ डा. विपिनकुमार झालाई उनको दरबन्दी कायम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाए अनुसार प्रादेशिक अस्पताल जनकपुरमा लामो समयदेखि काजमा कार्यरत विभिन्न विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी कायम रहेको प्रदेशका अन्य अस्पतालमा पठाइएको छ ।
९औँ तहका जनरल फिजिसियन डा. सञ्जीवकुमार झालाई प्रादेशिक अस्पताल जनकपुरबाट फिर्ता गरी दरबन्दी रहेको प्रादेशिक अस्पताल गौरमा खटाइएको छ ।
त्यसैगरी, ९औँ तहका बालरोग विशेषज्ञ डा. रविन्द्रकुमार साहलाई पनि जनकपुरबाट फिर्ता गरी प्रादेशिक अस्पताल गौरमै पठाइएको छ ।
९औँ तहका रेडियोलोजिस्ट डा. गिरी रञ्जन प्रधान, एनेस्थेसियोलोजिस्ट डा. रौशनकुमार साह र मनोचिकित्सक डा. दिव्यांशु झालाई पनि जनकपुरमा रहेको काज फिर्ता गर्दै उनीहरूको दरबन्दी रहेको प्रादेशिक अस्पताल गौरमा खटाइएको छ ।
जनकपुरधाममा काजमा कार्यरत ९औँ तहका बालरोग विशेषज्ञ डा. जितेन्द्र जयसवाललाई दरबन्दी रहेको प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ ।
त्यस्तै, ९औँ तहका गाइनोकोलोजिस्ट डा. बृजमोहनकुमार रजकलाई पनि जनकपुरधामबाट फिर्ता गरी प्रादेशिक अस्पताल मलंगवामा खटाइएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत ९औँ तहका बालरोग विशेषज्ञ डा. विकासकुमार साहलाई दरबन्दी रहेको प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ ।
त्यस्तै, एनेस्थेसियोलोजिस्ट डा. सन्दीप शर्मालाई पनि जनकपुरको काजबाट फिर्ता गरी प्रादेशिक अस्पताल कलैयामा खटाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाए अनुसार प्रादेशिक अस्पतालमा काजमा कार्यरत ९औँ तहका जनरल मेडिसिन विशेषज्ञ डा. कृष्णकुमार यादवलाई उनको दरबन्दी रहेको प्रादेशिक अस्पताल सिरहामा पठाइएको छ ।
