सर्लाही, ०६ भदाै । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४ औँ दिन (बुधबार) सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कूल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ ।

त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ३४.०४ प्रतिशत र अन्यतर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ ।

सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिएका छन् ।

राजस्व चुहावट रोकेर ‘मिसन मोड’ मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिँदै आएका छन् । गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कूल संकलनभन्दा ३३१ अर्बले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *