सर्लाही, ०६ भदाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर सरेको छ ।

यसको अर्थ न्यूनचापीय रेखा नेपालको पश्चिमतर्फ नजिकिएको छ । यो रेखा नजिकिँदा वर्षा हुने क्रम बढ्छ । नेपालको पूर्वतर्फ भने मनसुनी रेखा सरदर स्थानकै आसपास रहेको महाशाखाले जनाएको छ । अर्थात् पूर्वतर्फ यो नजिक छैन । 

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी,लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोसी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभाग तथा कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *