काठमाण्डाैं, ०६ भदाै । चिनियाँ सरकारले आफ्ना केही सरकारी निकायहरूलाई माइक्रोसफ्टको विन्डोज–१० सफ्टवेयर हटाएर स्वदेशी लिनक्स प्रयोग गर्न निर्देशन दिएको छ ।
डिजिटल आत्मनिर्भरता बढाउने र विदेशी प्रविधिमाथिको निर्भरता घटाउने मुख्य उद्देश्यसहित चीनले अगस्ट २१, २०२६ मा यो नयाँ निर्णय सार्वजनिक गरेको हो ।
सुरक्षासम्बन्धी केही समस्याहरूलाई ध्यानमा राख्दै यो कदम चालिएको बताइएको छ । यद्यपि माइक्रोसफ्टले भने आफ्नो कस्टम विन्डोजमा कुनै पनि समस्या नरहेको स्पष्ट पारेको छ ।
यो घोषणापछि चीनका स्थानीय लिनक्स अपरेटिङ सिस्टम निर्माताहरू काइलिन सफ्टवेयर र युनियनटेकको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
काइलिन ओएस र युओएस जस्ता सिस्टमहरू पहिले नै सरकारी कार्यालय, सरकारी स्वामित्वका कम्पनीहरू र अतिसंवेदनशील क्षेत्रहरूमा विन्डोजको विकल्पका रूपमा रहँदै भने आएका छन् ।
यो चीनको लामो समयदेखि चलिरहेको नीतिको निरन्तरता पनि हो । बेइजिङले सन् २०१४ मा नै विन्डोज–८ लाई सरकारी खरिदबाट प्रतिबन्ध लगाएको थियो ।
सन् २०१९ देखि सरकारी कार्यालयका विदेशी कम्प्युटरहरू क्रमश: बदल्ने आदेश दिएको थियो । र सन् २०२२ मा केन्द्रीय निकाय तथा राज्य स्वामित्वका कम्पनीहरूलाई विदेशी ब्रान्डका कम्प्युटर पूर्णतया हटाउन भनेको थियो ।
तर, अहिलेको हकमा भने सबै सरकारी कम्प्युटरहरूबाट विन्डोजलाई तुरुन्तै हटाएर लिनक्समा लैजान भने सहज हुने छैन । कर्मचारीहरूलाई तालिम दिन र पुराना सफ्टवेयरहरू नयाँ प्रणालीमा चल्ने नचल्ने कुरा सुनिश्चित गर्न केही समय लाग्ने देखिएको छ ।
