सर्लाही, ०८ भदाै । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच महिलालाई रोकी जाँच गरेको थियो । जाँचका क्रममा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाँच किलो २२५ ग्राम चरेजस्तो देखिने कालो गिलो पदार्थ र १० किलो अफिमजस्तो देखिने गिलो पदार्थ बरामद भएको हो। उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साकी चुमा लामिछाने छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । बरामद पदार्थको परीक्षणसँगै घटनामा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालबारे समेत अनुसन्धान भइरहेको उनले बताए ।
