सर्लाही, ०८ भदाै । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गर्नुभएकाे छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुम्बासीसँगको भेटघाटका क्रममा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे-“तपाईहरुलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ । कानूनमा सुधार भइसकेको छ। यसमा जिल्ला भूमि समितिले छिटो भन्दा छिटो काम सुरु गरेर तपाईंहरुलाई लालपुर्जा दिन्छ ।”

मन्त्री रावलले देशैभर भएको समस्या समाधानका लागि कानूनमा धेरै सुधार गर्नुपर्ने रहेको बताउनुभयाे। अहिलेको कानूनले सुकुमवासीको समस्या समाधानमा समस्या देखिएकाले कानून संशोधन गरेर मुलुकभरका सुकुम्बासीको समस्या समाधान गरिने मन्त्री रावलले बताउनुभएकाे छ ।

सरकारले भूमिहीन सुकुमवासीको समस्या प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयाे। मन्त्री रावलले सुकुम्बसीलाई अफवाहमा नलाग्न समेत आग्रह गर्नुभएकाे छ ।

त्यसैगरी, मन्त्री रावलले आइतबारै महेन्द्रनगरस्थित निर्माणाधीन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा–चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *