सर्लाही, ०८ भदाै । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको हो ।

सुरुङमार्गबाट कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीसाधनले काठमाडौँ–धादिङ आउजाउ गर्न सक्नेछन् । यसअघि इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइँदै आएको थियो ।

सडक विभागका अनुसार सोमबारदेखि यी सवारीसाधनसँगै ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै आवागमन गर्न अनुमति दिइएको हो ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौँबाट धादिङतर्फ तथा धादिङबाट काठमाडौँतर्फ जाने सवारीसाधनले नागढुंगाको उकालो सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न सक्ने भएका छन् ।

यस सुरुङमार्गमा अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । अन्य ठूला सवारी साधन भने परीक्षणकाल पछि सोही सुरुङमार्ग हुँदै यात्रा गर्न सक्नेछन् । जैसीका अनुसार हालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुनेछ ।

उनका अनुसार अवस्था हेरेर १/२ दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला हुनेछ । सञ्चालन समयलाई बिहान ७ देखि साँझ ८ सम्म र त्यसपछि बिहान ६ देखि राति १० बजेसम्म विस्तार गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *