सर्लाही, ०९ भदाै । नेपालले एसीसी प्रिमियर कपअघि भएको एकदिवसीय अभ्यास खेलमा मलेशियालाई डीएसएल नियमका आधारमा ९ विकेटले हराएको छ ।
मलेशियाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले २८ ओभरमा २२८ रनको लक्ष्य पाएको थियो । नेपालले यो लक्ष्य २८ ओभरमा १ विकेट गुमाएर भेटायो ।
नेपालका आसिफ शेखले १६१ रन बनाए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे । यस्तै अर्जुन कुमालले ८२ बलमा ७ चाैकासहित नटआउट ६१ रन बनाए । आसिफ र अर्जुनले २२० रनको साझेदारी गरे ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेशिया ४८ ओभर २ बलमा २३२ रन बनाउँदा अलआउट भयो । मलेशियाका मुहम्मद स्याहादात रामलीले ६१ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४, करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
नेपालले मलेशिया आउनुअघि भारतमा कर्नाटकसँग २ वटा अभ्यास खेल खेलेको थियो । नेपाल २ वटै खेलमा विजयी भएको थियो ।
एसीसी प्रिमियर कप आउँदो आइतवार भदौ १४ गतेदेखि मलेशियामा शुरू हुँदैछ । प्रतियोगितामा १० वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित साउदी अरब, बहराइन, मलेशिया र हङकङ तथा समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् ।
समूह चरणबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल भदौ २७ गते हुनेछ ।
