सर्लाही, ०९ भदाै । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जना पक्राउ परेको छ ।
प्रहरीले गरिमा हत्या प्रकरणको अनुसन्धानको दायरा फराकिलो बनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये प्रारम्भिक चरणमा जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र एक १६ वर्षीय नाबालक पक्राउ परेका थिए । १६ वर्षीय नाबालकको नाम प्रहरीले कानुनी कारणले सार्वजनिक गरेको छैन ।
त्यसपछि अनुसन्धानका क्रममा थप व्यक्तिहरू पक्राउ परेका छन् । प्रहरीको विज्ञप्तिमा इन्द्रजित चौधरी, पुष्पा चौधरी, ममता चौधरी, शेख हुस्मुदिन आलम, टेकबहादुर थापा मगर, नवीन वि.क. पक्राउ परेको उल्लेख छ। नाबालकको हकमा प्रहरीले परिवर्तित नाम प्रयोग गरेको छ।
पछिल्लो चरणमा १४ वर्षीय अर्का बालक प्रदीप खड्का समेत पक्राउ परेको सार्वजनिक विवरण आएको छ । उनी जीतपुरसिमरा–२ का कक्षा ९ मा अध्ययनरत बालक रहेको प्रहरीले जनाएको छ । यससँगै पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ ।
प्रहरीले पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
बारा जिल्ला अदालत कलैयाबाट पहिलो चरणमा ४ दिन र दोस्रो चरणमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको विज्ञप्तिमा उल्लेख छ।
यसको अर्थ प्रहरीले पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट प्राप्त प्रमाण, आपसी सम्पर्क तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिको भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ।
यसबीच मुख्य आरोपित नाबालकसँग चिकित्सकले सोधपुछ गरिरहेको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठेको छ ।
उक्त भिडियो सार्वजनिक हुनु अनुसन्धानको गोपनीयता र बाल न्यायसम्बन्धी प्रक्रियासँग जोडिएको विषय बनेको छ । सोही विषयमा प्रहरी मुख्यालयले प्रहरी माथि पनि अनुसन्धान थालेको छ । भने भिडिओ लिक गरेको प्रहरी हवलदार कुमार विकलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ ।
