सर्लाही, १० भदाै । केही महिनायता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भूमिका फराकिलो बनाउँदै लगेका छन् ।
सभापतिका रुपमा उनले पार्टी त हाँकिरहेकै छन्, संसदीय दलमा रहेको नेतृत्व रिक्तता पनि पूर्ति गरिरहेका छन् । त्यसबाहेक कतिपय अवस्थामा राजकाजसम्बन्धी जिम्मेवारी पनि उनले सम्हालिरहेको देखिन्छ ।
प्रधानमन्त्री वालेन्द्र शाह आफैँ नेता रहेको रास्वपा संसदीय दलको बैठकलाई बेवास्ता गर्ने गरेका छन् । उनी पछिल्लो समय बैठकमा सहभागी हुन छाडेका छन् ।
यस्तो स्थितिमा रविले संसदीय दलको ‘डिफ्याक्टो’ नेताका रुपमा काम गरिरहेका छन् । उनले आफ्ना सांसदलाई संसदमा मर्यादित र प्रभावकारी भूमिका खेल्न निर्देशन दिँदै आएका छन् ।
गत साता मन्त्री र सांसदको संयुक्त छलफल राखेर उनले आगामी ३५ वर्षका लागि योजना बनाएर काम गर्न सुझाव दिए ।
त्यसअघि सुनसरी–सिराहामा फैलिएको साम्प्रदायिक तनाव रोक्न पनि प्रधानमन्त्री वालेनले भन्दा पहिले रविले नै पहलकदमी लिएका थिए । रवि फेरि चार जनाको ज्यान गएपछि शान्त बनेको मधेसका जिल्ला भ्रमणमा जाने भएका छन् ।
रास्वपाका सहमहामन्त्री पुरुषोत्तम यादवका अनुसार भदौको तेस्रो हप्तामा रवि मधेस प्रदेश पुग्नेछन् ।
‘माननीय मनिष झा, अमरेशकुमार सिंहलगायत हामी सभापतिलाई लिएर मधेस जाँदैछौँ,’ उनले भने, ‘संगठन बलियो बनाउन लैजान लागेका हौँ, पार्टी प्रवेश कार्यक्रम पनि हुन्छ ।’
रवि किन झर्दैछन् त मधेस ?
२०८२ को निर्वाचनमा रास्वपाले मधेसका ३२ प्रत्यक्ष सिटमध्ये ३० सिट जितेको थियो। समानुपातिकतर्फ पनि प्रदेशमा रास्वपाले १३ लाख अर्थात् ५७.३३ प्रतिशत मत पायो। रास्वपाले पाएको असाधारण सफलताको एउटा ठूलो आधार मत थियो ।
बालेन शाह नेतृत्वमा रास्वपाले सरकार बनायो। पहिलो पटक मधेसी समुदायबाट प्रधामन्त्री बनेको भन्दै मधेसले उत्सव मनायो ।
तर, त्यो उत्साह १५० दिन पनि टिकेन । मधेस अहिले सरकारसँग बेखुस छ भन्ने संसदबाटै प्रस्ट हुन्छ । देखिएको छ। यादव, झा, सिंह लगायतका सांसदले सरकारको कार्यशैलीप्रति निरन्तर प्रश्न उठाइरहेका छन् ।
नेताहरूका अनुसार आम मानिस समेत रास्वपासँग निराश हुन थालेको सूचना रविले पाएका छन् । भदौ ३ गते भएको दलको बैठकमा सांसद सिंहले आफूलाई एक हप्ताको समय दिए सरकारका सय गल्ती निकालिदिने बताएका थिए । उनले रास्वपाको मधेसमा प्रभाव स्वात्तै घटेको समेत दाबी गरेका छन् ।
‘छठ पर्व सकिएपछि मधेसमा रास्वपाका सांसदले कुटाइ खाने दिन आउँदैछ,’ रविसमक्ष सिंहले भनेका थिए ।
पार्टीप्रति बढ्दो अविश्वासको वास्तविकता बुझ्न लामिछाने मधेस जान लागेका रास्वपा सांसदहरू बताउँछन् । उनले भदौ ७ गते पदाधिकारी, सांसद र केन्द्रीय सदस्यहरूलाई यसको जानकारी गराएका छन् ।
त्यसअघि उनले मधेसबाट प्रतिनिधित्व गर्ने सांसदसँग दुई पटक छलफल गरिसकेको सांसद रहबर अन्सारीले जानकारी दिए ।
उद्योग समितिका सभापति समेत रहेका अन्सारी मधेसमा देखिएको सांगठनिक समस्या हल गर्न सभापति नै सक्रिय हुन लागेको बताउँछन् ।
‘मधेसमा अधिवेशन भएन । त्यहाँको सांगठनिक समस्या म आफैँ गएर समाधान गर्छु भनेर सभापतिले भन्नुभयो,’ उनले भने ।
तर, सांसद सिंहका अनुसार मधेसमा अधिवेशनको मात्र समस्या छैन ।
‘पार्टीप्रति निराशा बढ्दो छ,’ उनले भने ।
बालेन प्रधानमन्त्री भएपछि एक पटक पनि मधेस पुगेका छैनन् । जबकि, फागुन २१ गतेको चुनावको लागि माघ ५ गते चुनावी अभियानको थालनी भने मधेसबाटै गरेका थिए ।
संघीयता बलियो बनाउने वाचा गरेका बालेनले प्रधानमन्त्री भएपछि उल्टै सीमाबाट सामान ल्याउँदा सय रुपैयाँमाथिको सामानमा भन्सार लगाउने निर्णय गरेको भन्दै मधेसका नागरिक रुष्ट छन् । मधेसी जनताका समस्यामा सरकार गम्भीर नभएको उनीहरूको बुझाइ छ ।
केन्द्रसँग रिसाएको मधेसलाई फकाउने काम प्रधानमन्त्री बालेनले गर्नुपर्ने आवाज पार्टीभित्र उठ्दै आएको छ । तर, यसलाई बालेनले वास्ता नगरेपछि रवि आफैँ अघि सरेको सो पार्टीका नेताहरूको भनाइ छ ।
‘सभापतिसँग विभिन्न नेता र कार्यकर्ताले भेट्छन्, अब अग्रसरता नलिने हो भने रास्वपा झन् कमजोर हुने रिर्पोटिङ भएको छ,’ रास्वपाका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीले गर्नुपर्ने काम सभापतिले गर्दै हुनुहुन्छ ।’
मधेसका ८ जिल्लामा संगठनको समस्या समाधान गर्न सके रवि थप शक्तिशाली हुने उनको भनाइ छ ।
