सर्लाही, ११ भदाै । सर्लाहीको हरिवन नगरपालिका-७ का एक पुरुष हरिवन नगरपालिका-६ स्थित चार्ली सामुदायिक वन नजिक नहरको डिलमा मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा हरिवन नगरपालिका–७ निवासी करिब ४९/५० वर्षीय प्रेमबहादुर थिङ रहेका छन् । प्रहरीका अनुसार थिङ गत भदौ ८ गते बिहान करिब ६ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए ।
उनी लामो समयसम्म घर नफर्किए पनि अत्यधिक मदिरा सेवन गर्ने भएकाले परिवारले घर फर्कने अनुमान गर्दै तत्काल खोजतलास नगरेको बताइएको छ ।
आज (विहिबार) दिउँसो करिब १ बजे स्थानीयवासी निगुरो टिप्न जाने क्रममा चार्ली सामुदायिक वन नजिक चार्लीबाट मुर्तिया जाने नहरको डिलमा थिङलाई घोप्टो परेको अवस्थामा मृत फेला पारेका थिए । स्थानीयले घटनाबारे उनका दाइ रामबहादुर थिङलाई जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर शवको अवस्था जाँच गर्नुका साथै घटनास्थल सुरक्षित राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
