सर्लाही, ११ भदाै । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् ।

नुवाकोटको विदुर नगरपालिकामा रहेको ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको अस्तित्व प्रकृतिले एकैछिनमा मेटाइदियो । तर त्यो भौतिक विनाशका बेला मानवीय साहस, सुझबुझ र दायित्वले १६ सयभन्दा धेरै बालबालिकाको जीवन बचायो ।

बुधवारको बिहानीकाे समयमा कक्षा १२ सम्मका १ हजार ६४३ जना विद्यार्थी प्रार्थना र पठनपाठनको तयारीमा थिए । एकाएक माथिल्लो तटीय क्षेत्र (रसुवा) बाट विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई फोन आयो । ‘बेद्रावतीमा सबै बगाइसक्यो, ठूलो बाढी आउँदैछ !’ भन्ने खबर आयो ।

त्यति नै बेला कक्षा १० का एक अभिभावक हतारिँदै विद्यालय प्राङ्गणमा आउनु भयो । उहाँको अनुहारमा सातो गएको त्रास थियो— ‘माथि गाउँ बगाइसक्यो, खोला पस्यो, म बच्चा लिन आएँ !’ भन्नुभयो ।

प्रधानाध्यापक दवाडीका लागि सोचविचार गर्ने वा अन्य निकायको औपचारिक आदेश पर्खिने समय थिएन । बाढी विद्यालयसम्म आइपुग्न केवल १२ देखि १५ मिनेटको समय बाँकी थियो ।

स्थिति अत्यन्तै भयावह थियो । प्रधानाध्यापक दवाडी र उपस्थित शिक्षकहरूले विना कुनै विलम्ब सर्वसम्मतिमा निर्णय लिए— तुरुन्त विद्यालय खाली गराउने र सबै बालबालिकालाई सुरक्षित ठाउँतर्फ पठाउने ।

विद्यालय प्रशासनले तत्कालै सबै विद्यार्थीलाई सुरक्षित ठाउँमा लाग्न निर्देशन दियो । बसमा जाने विद्यार्थीहरूलाई गाडी चालकहरूसँग तुरुन्तै पठाइयो भने पैदल जानेहरूलाई नजिकैको डाँडा तथा माथिल्लो सुरक्षित भेगतर्फ दौडाइयो ।

१५ मिनेट बित्न नपाउँदै उर्लिएर आएको त्रिशूलीको भेलले विद्यालय परिसरलाई नै एकैचोटि डुबायो । प्रधानाध्यापक दवाडी त्यो क्षण सम्झँदै भन्नुहुन्छ – ‘विद्यार्थीहरूलाई बचाउने क्रममा हाम्रै ज्यान जानेजस्तै भएको थियो । विद्यालयको भौतिक संरचना क्षणभरमै बगर बन्यो, अहिले माथिबाट हेर्दा विद्यालय भएको ठाउँबाटै सोझै खोला हिँडिरहेको छ ।’

शिक्षकहरूले झन्डै १०० जना विद्यार्थी (विशेषगरी छात्रावासका छात्राहरू) लाई लिएर माथिल्लो डाँडामा पुगे । रातभरिको अथक प्रयास र अभिभावकहरूसँगको सम्पर्कपछि क्रमशः बालबालिकाहरूलाई परिवारको जिम्मा लगाइयो । खुशीको कुरा, विद्यालयका बस र तिनका चालकहरू पनि सुरक्षित छन् ।

भौतिक सम्पत्ति पूर्णरूपमा नष्ट भए पनि हजारौँ बालबालिकाको ज्यान जोगिनु कुनै चमत्कारभन्दा कम थिएन । तर बाढीका कारण टेलिफोन नेटवर्क, विद्युत् र सडक सम्पर्कविच्छेद हुँदा वास्तविक क्षतिको विवरण पाउन निकै सकस भयो ।

सबैभन्दा दुःखद कुरा, सबै विद्यार्थीलाई सुरक्षित ठाउँमा पठाएर अन्तिममा निस्किएका विद्यालयका एक जना कार्यालय सहयोगी र निम्न माध्यमिक तहका सामाजिक शिक्षक सन्तोष परियार सम्पर्कविहीन हुनुहुन्छ ।

बाटोमा हिँड्दै गर्दा पुल छेउछाउ तथा बजार क्षेत्रमा परेका केही मानिसहरू बाढीको चपेटामा परेको आशङ्का छ । देवचुली बजार नै खण्डहर बनेकाले कतिपय विद्यार्थी र तिनका अभिभावकहरू अझै सम्पर्कमा आउन सकेका छैनन् ।

नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा यदि १५ मिनेट अगाडिको निर्णय नलिइएको भए आज त्रिशूलीको किनारमा कति ठूलो रोदन गुञ्जिरहेको हुन्थ्यो होला ? कल्पनासम्म गर्न सकिन्न । प्रकृतिले भौतिक संरचना, कक्षाकोठा र कागजातहरू बगाएर लगे पनि शिक्षकहरूको सुझबुझपूर्ण निर्णय र प्रयासले १६ सय जना बालबालिकाको जीवन जोगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *