सर्लाही, १३ भदाै । सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित मधुवनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गएराति करिब ९ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बी‍.आर. ३० एल ३१८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब साढे पाँच फिट तल रहेको पुलको साइफनमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।

दुर्घटनामा बलरा नगरपालिका-६ निवासी १७ वर्षीय अभिनाष बैठा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा राति करिब साँढे १० बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै, मोटरसाइकलको बीचमा सवार बलरा नगरपालिका-६ निवासी १८ वर्षीय रोहित बैठाको दुवै खुट्टा तथा शरीरको भित्री भागमा चोट लागेको थियो । सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा राति करिब साँढे २ बजे बाटोमै मृत्यु भएको आशंका भएपछि उनलाई पुनः प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो ।

अस्पतालमा ईसीजी परीक्षण गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार भारतको बिहार राज्य, सीतामढी जिल्ला, बथनाहा थाना, रनौली-१० घर भई हाल बलरा नगरपालिका-६ बस्दै आएका २४ वर्षीय शनि कुमार बैठाको दाहिने खुट्टा भाँचिएको छ । उनको अवस्था गम्भीर रहेको र सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *