सर्लाही, १३ भदाै । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले  विपद्पछिको अवस्थालाई सम्बोधन गर्न संगठन अहोरात्र खटिएको बताउनुभयाे ।

उहाँका अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको, हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको छ ।

विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताउनु भयो । सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्लेले उल्लेख गर्नुभयो ।

हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्यसमेत भइरहेको काफ्लेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *