सर्लाही, १३ भदाै । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि भारतलाई ठूलो क्षमताको हेलिकप्टर ल्याउन गरेको आग्रहलाई प्रधानमन्त्री कार्यालयले अस्वीकार गरेको छ । 

भारतीय उद्धार टोलीले भोटेकोसी बाढीबाट क्षति पुगेका र सयौं मान्छे फसिरहेका चिलिमे, त्रिशूली-३ ‘ए’, माथिल्लो त्रिशूली तथा अरु विद्युत् आयोजनामा उद्धार कार्यमा खटिन ठूलो हेलिकप्टर ल्याउन अनुमति मागेको थियो । तर, सरकारले अनुमति दिन अस्वीकार गरेको छ । रसुवा र नुवाकोटका ११ जलविद्युत आयोजनामा कार्यरत करिब नौ सय जना सम्पर्कविहीन छन् । 

नेपाल विद्युत् प्राधिकरण स्रोतले पनि भारतीय उद्धार टोलीले यी विद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदूरको उद्धार गर्न ठूलो क्षमताको हेलिकप्टर नेपाल ल्याउन अनुमति मागेको पुष्टि गरेको छ । तर, उनीहरूले अनुमति नपाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । 

त्रिशूल-३ ‘ए’ जलविद्युत् आयोजनको सुरुङमा फसेका कर्मचारी र मजदूरको उद्धारका लागि खटिएका सुरक्षाकर्मी।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सचिवालयका एक सदस्यले ठूलो क्षमताका हेलिकप्टर ल्याउन अनुमति नदिइएको पुष्टि गरे। ‘ठूलो हेलिकप्टर ल्याउन अनुमति नदिने भन्ने छ,’ ती सदस्यले भने । 

उनका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै विदेशबाट ठूला हेलिकप्टरलाई उद्धारमा ल्याउन अनुमति दिएको छैन ।

प्रधानमन्त्री कार्यालयले नै अनुमति नदिएकाले आफूहरूले पनि सोही बमोजिम भारतीय हेलिकप्टरलाई अनुमति नदिएको उनले जानकारी दिए । 

भौगोलिक हिसाबका कारण सुरक्षित नदेखिएकाले अनुमति दिन नसकिने उनको भनाइ छ । साथै विदेशी पाइलटलाई पहाडी तथा उच्च पहाडी भूभागमा हेलिकप्टर उडाउन दिँदा जोखिम हुन सक्ने भएकाले ठूलो क्षमताको हेलिकप्टर ल्याउन भारतलाई स्वीकृति नदिएको जिकिर गरे । 

‘ठूलो क्षमताको हेलिकप्टर रसुवा, नुवाकोटजस्तो भौगोलिकरूपमा चुनौतीपूर्ण जिल्लाहरूमा उडान उपयुक्त मानिँदैन। त्यसमाथि उद्धारका लागि यस्ता हेलिकप्टर अझ जोखिमपूर्ण हुनसक्छ,’ पर्यटनमन्त्रीको सचिवालयका ती सदस्यले भने, ‘यस्तो कठिन र जटिल भौगोलिक बनावट भएको ठाउँमा यहाँ उडाउने अनुभव नभएका पाइलटलाई ठूलो क्षमताको हेलिकप्टर ल्याउन नदिने सरकारको नीति छ ।’

त्रिशूल-३ ‘ए’ जलविद्युत् आयोजनमा उद्धार लागि जाँदै चिनियाँ विज्ञ टोली।

विद्युत् प्राधिकरणले भने ठूला हेलिकप्टर ल्याएर भए पनि सुरुङमा फसेका कर्मचारी तथा मजदूरको उद्धार छिटो गर्न दबाब दिइरहेको छ। तर, सरकारले भने ठूलो हेलिकप्टर ल्याउन अनुमति दिएको छैन । 

सरकारले अनुमति दिएपछि माथिल्लो त्रिशूली-३ ‘बी’ मा फसेकाहरूको उद्धार गर्न चिनियाँ विज्ञ टोली फिल्डमा खटिसकेको छ। विज्ञसहित ६ जनाको चिनियाँ टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको थियो । त्यहाँबाट नेपाली हेलिकप्टरबाट प्रभावित क्षेत्र पुगेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *