सर्लाही, १५ भदाै । २०७२ साल वैशाख १२ गोरखाको बारपाक र सुलीचौर केन्द्र बनाउँदै गएको विनाशकारी भूकम्पले नुवाकोट, धादिङ र रसुवामा धेरै मानवीय र भौतिक क्षति भयो ।
पहाडमा बनेका कमजोर संरचनाकै कारण घर भत्किएर मानवीय क्षति भएपछि उनीहरू सुरक्षित बस्ती खोज्न थाले। भिरालो पहाडबाट उनीहरू समथर ठाउँको खोजीमा लागे ।
त्रिशूली नदीको किनार उनीहरूले खोजेजस्तै ठाउँ थियो । समथर, १२ महिना पानीको सुविधा। चिम्ट्याइलो माटो, दुईपटक धान र गहुँ फल्ने अन्नभण्डार। विस्तारै लेकतिरबाट तल झर्ने क्रम बढ्यो ।
अनि त्रिशूली किनारमा पक्की घरहरू बन्न थाले। छोराछोरी पढ्ने विद्यालय बने । सडकछेउ पसल खुले। होटल बने । बजार फैलियो । जग्गाको मूल्य बढ्यो। भूकम्पले उजाडेको जीवन विस्तारै सामान्य हुँदै गयो ।
तर ११ वर्षपछि पहाडबाट फेरि विपत्ति तल झर्यो। यसपटक भूकम्पको होइन, नदीको मारमा उनीहरू परे ।
भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा हिमपहिरो खस्दा ल्हेन्दे खोलामा भीषण बाढी आयो। रसुवागढी नाका हुँदै अगाडि बढेको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती, सोले, भैँसे, देवीघाट लगायतका बजार र बस्तीमा विनाश मच्चायो ।
बाढीको भेलमा परेर हजारौँ मानिस बेपत्ता छन् । अहिलेसम्म ८ सयको शव फेला परेको छ ।
एक दशकअघि भूकम्पबाट जोगिन पहाड छोडेर बेँसी झरेका मानिसहरू अहिले त्यही बेँसीमा आफ्ना घर, आफन्त र जीवनको खोजी गरिरहेका छन्। एउटा विपत्तिबाट जोगिन खोजेका उनीहरूलाई त्रिशूली किनारैमा अर्काे महाविपत्तिले भेट्यो ।
सो ठाउँमा अहिले सन्नाटा छाएको छ। स्वजन गुमाएको पीडाले उनीहरू बोल्न सकिरहेका छैनन् ।
यसरी रसुवाको उत्तरगया र कालिका गाउँपालिका, नुवाकोटका सूर्यगढी, म्यागङ, तारकेश्वर, बेलकोटगढी, दुप्चेश्वर, किस्पाङ लगायतका पालिकाबाट बेँसी झरेको किस्पाङ पालिकाका प्रवक्ता समेत रहेका वडा ५ का अध्यक्ष प्रकाश तमाङ डिम्डुङ बताउँछन् ।
‘डाडाँपाखामा ढुङ्गा खसेर जोखिम हुन्थ्यो, त्यही भएर मानिसहरू सुरक्षित ठाउँ खोज्दै बेँसी झरे,’ उनले भने ।
रसुवाको उत्तरगया, कालिका गाउँपालिकाका मानिस त्रिशूली किनारमा बसेको उनी बताउँछन् । कतिपयको खेतीपाती गर्ने जमिन नै भएकोले तलै घर बनाएर बस्न थाले ।
सोही कारण खाल्डे, कोलनी, हात्तीगौँडा, कँडेलटार, वेत्रावती, सोले, तुप्चे, भैँसे, सुवाघाट, विदुरापार्क, त्रिशूली, ढुंगे, देवीघाट, काशीटार लगायत क्षेत्रमा बजार बढ्दै गयो ।
त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाडीका अनुसार बेँसीमा जनघनत्व तीव्र बढ्दै गएको थियो ।
‘भुइँचालोपछि बेँसीमा बस्ती व्यापक बढेको हो,’ उनले भने, ‘सरकारले भूकम्प प्रभावितलाई यही बेँसीकै भूभागमा व्यवस्थापन गरेको थियो। घडेरी किन्न, घर बनाउन तीन लाख दियो । भूकम्पपछिको पुननिर्माण गर्न पनि त्यही खोला किनार छेउछाउ, स्कुल छेउछाउका क्षेत्रमा ल्यायो ।’
उनले स्कुलमा चार गुणा विद्यार्थी संख्या बढेकोबाट पनि सो कुरा पुष्टि भएको बताए ।
‘भूकम्पपछाडि जहाँ पनि घर बनाउन पाइन्छ भने गाउँमा किन बनाउने भनेर तलै बनाए। भूकम्पको समयमा हाम्रो स्कुलमा झण्डै पाँचसय विद्यार्थी पढ्थे अहिले त १६ सय ४३ पढ्छन् । विद्यार्थी बढेको आधारमा पनि तल्लो क्षेत्रमा मानिसको बस्ती बढेको देखिन्छ,’ उनले थपे ।
धेरैजसो मानिसहरू नुवाकोटकै किस्पाङ, मेयाङ, रसुवाका केही ठाउँबाट आएको उनको भनाइ छ ।
‘पछिल्लो दिन यो क्षेत्रमा जग्गाको कारोबार व्यापक बढेको छ,’ उनले थपे, ‘त्रिशूलीमा रहेको स्कुल आसपास नै प्रतिआना १०–१५ लाखमा किनबेच गरे ।’
किस्पाङका ५ का वडाध्यक्ष डिम्डोङ पनि पछिल्ला दिन जग्गाको मूल्य आकाशिएको बताउँछन् ।
त्रिशूलीमा राम्रो अस्पताल र विद्यालय, सोले, वेत्रावती, भैँसे, देवीघाट लगायत सुगम ठाउँमा राम्रो विद्यालय र काठमाडौँ जान नजिक भएकोले भूकम्पपछि मानिसको रोजाइमा पर्यो,’ उनले भने ।
बेलकोटगढी ८ का शिक्षक दिलिप खतिवडाले भने, ‘भूकम्पमा ज्यान गएपछि सुरक्षित हुने ठानेर बेँसी झरेको देखिन्छ। यतिसम्म कि किस्पाङवासीले यहाँ टोलको नाम नै त्यही राखेका छन् ।’
त्रिशूली जिल्ला अस्पताल आसपास रहेको कोलनी चर्चित बजार बनिसकेको थियो ।
‘भूकम्पले गर्दा धेरैले घर बनाएका छन्,’ २०७६ देखि तल्लो क्षेत्रमै बसेका खतिवडाले थपे, ‘वैदेशिक रोजगारमा गएकाहरूको रोजाइ लेक भएन । त्रिशूली बजारमा कुनै समय नेवार समुदायको वर्चस्व थियो तर अहिले त्यहाँ पनि तामाङ बस्ती बढेको देखिन्छ ।’
यो क्षेत्रमा बस्ती बढ्नुको अर्को कारण पनि छ। ०७२ सालको भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका पूरै भत्कियो र ठप्प भयो ।
त्यसपछि चीनसँगको अधिकांश व्यापार केरुङबाट हुन थाल्यो । भारतले नाकाबन्दी लगाएपछि यही नाकाको प्रयोग बढ्यो। सरकारले प्रमुख नाका बनाउने भनेर राष्ट्रिय गौरवको आयोजनाका रुपमा यसलाई अगाडि बढायो ।
अनि दैनिक हजारौँ सवारीसाधन चल्न थाले। मानसरोवर जाने मानिस यही बाटो हिँड्न थाले । यसैकारण पनि यी बेँसीमा मानिसको आकर्षण बढेको किस्पाङ ५ का वडाध्यक्ष डिम्डोङ सुनाउँछन् ।
‘व्यापारिक हिसाबले केरुङ नाका खुलेपछि त्रिशूली नदी तटमा बस्ती बढ्यो,’ उनी भन्छन्, ‘केही व्यापार व्यवसाय गरेर आर्थिक अवस्था मजबुत बनाउन, राम्रो शिक्षा र स्वास्थ्य उपचार लिन पाइने भनेपछि लेक छोडेर बसाइँ नै सरे ।’
गणितका शिक्षक खतिवडा पनि यसमा सही थप्छन् ।
‘सडक व्यस्त हुँदै गएपछि विस्तारै बजार बन्न थाल्यो, ठूलठूला घर, होटेल बन्यो,’ उनले भने ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पनि लेकबाट बेँसी झर्ने क्रम पछिल्ला दिन बढ्दै गएको बताए ।
श्रेष्ठका अनुसार वडा नम्बर १०, १, ४, ६, ५ र ३ नम्बर वडा पुरै बाढीले पुरै क्षति गरेको छ ।
वडाध्यक्ष डिम्डुङले बाढीमा परेर हराइरहेकाहरूको विवरण सुन्दा कहाली लागेको बताए। उनकै वडामा पर्ने त्रिशूली ३ ए र बी पूरै ध्वस्त भएको भएको उनी बताउँछन् ।
वडाका सय जना भन्दा बढी मानिस हराएको उनको भनाइ छ ।
विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित पनि धेरै परिवार घरभित्रै फसेको जानकारी आउँदा पनि उद्धार गर्न नसकेकोमा पछुताइरहेका छन् । बाढी गएको पाँचौँ दिन बित्दा पनि उद्धारकार्य टुंगिएको छैन ।
