सर्लाही, १६ भदाै । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टबाट प्रहरीले कागजपत्रबिनाको मदिरासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । प्रहरीले कारमा फल्स बटन बनाई लुकाएर राखिएको मदिरासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नवलपरासीबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको टोयटा कारलाई रोकी जाँच गर्ने क्रममा कारको पछाडिको सिटमुनि फल्स बटन बनाई लुकाएर राखिएको मदिरा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद मदिराको मूल्य ४ लाख ४४ हजार १ सय रुपैयाँ रहेको छ । मदिरा र कारसहित नियन्त्रणमा लिइएको सामानको कुल मूल्य १४ लाख ४४ हजार १ सय रुपैयाँ रहेको छ ।

प्रहरीले कार चालक भारतको गौतम बुद्ध नगर निवासी ४० वर्षीय अनिल शर्मा, सोही जिल्लाको नजवगढ साउथ वेस्ट निवासी २८ वर्षीय मोहम्मद सारुख अन्सारी र सितामढी निवासी २१ वर्षीय प्रबेन्द्र कुमारलाई नियन्त्रणमा लिएको छ ।

बरामद मदिरामा ८० बोतल (मूल्य २ लाख ४० हजार रुपैयाँ), ठूलो बोतल ८७ थान (मूल्य १ लाख १३ हजार १ सय रुपैयाँ) र सानो बोतल १३० थान (मूल्य ९१ हजार रुपैयाँ) रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति, कार तथा बरामद मदिरालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *