सर्लाही, १६ भदाै । काठमाण्डौ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरुद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही हुने सरकारले जनाएको छ ।
बजारमा कृत्रिम अभाव र कालोबजारी गर्न सक्ने आशङ्कामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप १० टोली परिचालन गर्दैछ ।
खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप १० टोलीलाई बजार अनुगमनका लागि परिचालन गरेको हो ।
यसअघि नियमित रूपमा बजार अनुगमनमा ६ टोली परिचालित भएकोमा अहिले थप टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभएको छ । काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन हुने उहाँको भनाइ छ ।
बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्यवृद्धि गर्न नपाइने उहाँले स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार पहिलेकै स्टकलाई नयाँ र बढी मूल्यमा बेचेको पाइएमा तत्काल कारबाही गरिनेछ ।
पछिल्ला दिनमा सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण (स्टक) गर्ने प्रवृत्ति देखिएको छ । यसले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने जोखिम बढेकाले सरकारले अनुगमन तीव्र बनाएको हो ।
