सर्लाही, १७ भदाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास छ । यसको अर्थ मनसनुको रखेा नेपालको पश्चिमतर्फ केही नजिक छ भने पूर्वतर्फ केही टाढा छ । मनसुनको रेखा जति नजिक भयो उति पानी पर्ने सम्भावना बढ्छ ।
मौसम महाशाखाले आज (बुधबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कोसी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
