सर्लाही, १७ भदाै । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली पहिलो एकदिवसीय अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको छ ।
नेपाल ‘ए’ ले दिएको १९३ रनको लक्ष्य तास्मानियाले ४ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । तास्मानियाका थोमस ड्वायरले ६०, राफेल म्याकमिलनले ३२ रन बनाए । नेपाल ‘ए’ का शाहब आलम र दीपकप्रसाद डुम्रेले २/२ तथा रिजन ढकाल, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिए ।
यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४३ ओभर ३ बलमा १९२ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का तृतराज दासले ३७, मयन यादवले ३२, कुशल मल्लले २९, पवन सर्राफले नटआउट २२ रन बनाए ।
तृतराज र मयनले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाडीबीच धेरै रनको साझेदारी हुन सकेन । तास्मानियाका बिली स्टायनलेकले ४ विकेट लिए ।
अब नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रवार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतवार न्युजिल्यान्ड ‘ए’ सँग खेल्नेछ ।
