सर्लाही, १८ भदाै । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा सुचारु गरेको छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले क्षति पुर्याएका स्थानहरूमा टेलिकमका प्राविधिकहरूले निरन्तरको प्रयासपछि नेटवर्क पहुँच पुनः स्थापित गरिएको हो ।
बाढीका कारण सडक र विद्युत सेवा अवरुद्ध भएपछि सञ्चार सेवा सुचारु गर्न चुनौतीपूर्ण बनेकोमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक, जेनेरेटर, इन्धन र आवश्यक उपकरणहरू ढुवानी गरी प्रभावित क्षेत्रमा सेवा सञ्चालन गरेको टेलिकमले जनाएको छ।
बाढीले पारेको क्षति र पुनर्स्थापनाको प्रक्रिया
विज्ञप्ति अनुसार रसुवा, नुवाकोट र धादिङका कुल १२० मोबाइल साइटमध्ये ८३ वटा साइटमा बाढीले असर गरेको थियो । तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली ३ ‘बी’ गरी तीनवटा साइटहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
हाल क्षतिग्रस्त साइटहरूबाट उपलब्ध हुने सेवा अन्य वैकल्पिक साइटहरूमार्फत उपलब्ध गराइएको छ भने ती टावरहरूको पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको टेलिकमले जनाएको छ।
रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै राहत र उद्धार कार्यमा ठूलो सहयोग पुगेको एनटीसीले जनाएको छ । यसैगरी भदौ १६ गते धादिङको कल्लेरी र नुवाकोटका विभिन्न ५ स्थानका साइटहरू सुचारु भएसँगै बाढी प्रभावित सबै स्थानमा टेलिकमको नेटवर्क पुगेको छ ।
भदौ ११ गतेदेखि नै टेलिकमले रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट उपकरण पठाई मर्मत सुरु गरेको थियो ।
रसुवाको गोलजुङ, नुवाकोटको गेर्खु, तुप्चे र टिमुरे माथिको टावरमा पनि हेलिकप्टरकै प्रयोग गरी इन्धन र प्राविधिक पठाइएको थियो। विद्युत आपूर्ति सहज नभएका स्थानहरूमा हाल जेनेरेटरमार्फत सेवा सञ्चालन भइरहेको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले विज्ञप्ति जारी गर्दै कठिन परिस्थितिमा पनि सेवा सुचारु गर्न सहयोग गर्ने सञ्चार मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय, नेपाल विद्युत प्राधिकरण र स्थानीय तह लगायत सबैलाई धन्यवाद दिएका छन् ।
