सर्लाही, २२ भदाै । मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पुग्ने तथा द्वन्द्व भड्काउने प्रकृतिका अभिव्यक्ति सार्वजनिक स्थानमा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् ।
उनले काठमाडौका विभिन्न स्थानमा ‘मधेशी धोती गो ब्याक टू यू इण्डिया’ लगायतका अभिव्यक्तिहरुले लेखेका थिए । काठमाडौंका विभिन्न सार्वजनिक स्थानमा विभिन्न मितिमा मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भाव बिगार्ने किसिमका अभिव्यक्ति लेखिएको पाइएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो ।
सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गुरुङलाई शंखमुलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको जानकारी दिएका छन् ।
