सर्लाही, २२ भदाै । देशकै पहिलो विद्यालयका रूपमा रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको बाढी तथा विपत्तिमा परी अनाथ भएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने घोषणा गरेको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले सोमबार आयोजना गरेको राष्ट्रिय शोक दिवसका अवसरमा गुरुकुलले यस्तो घोषणा गरेको हो ।

गुरुकुलका गोठालो (प्रधानाध्यापक) ईश्वरी पौडेलले वक्तव्य जारी गर्दै भन्नुभएको छ, “यस विनाशकारी विपत्तिले धेरै छात्रलाई अभिभावकविहीन बनाएको छ ।

अभिभावक गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । तर ती बालबालिकाको भविष्य पनि अन्धकारमा पर्न नदिनु हाम्रो साझा मानवीय दायित्व हो ।

त्यसैले गुरुकुल परिवारले बाढी तथा विपत्तिका कारण अनाथ बनेका १० जना छात्रको कक्षा ८ देखि कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने संकल्प गर्दछ ।”

महोत्तरीको मटिहानी नगरपालिका–७ मा रहेको सो विद्यालय विसं १७५० मा सेन वंशको समयमा स्थापना भएको नेपालको पहिलो गुरुकुलका रूपमा चिनिन्छ ।

गुरुकुलका गोठालो पौडेलले दुःखद् घडीमा मानवीय सेवाको महत्वपूर्ण संकल्पसहित गुरुकुल अघि बढ्न चाहेको बताउनुभयो। उहाँले ती छात्रलाई विद्यालयमा भर्ना गरेर शिक्षा दिने मात्र नभई उनीहरूको भविष्य निर्माणमा अभिभावकीय जिम्मेवारी र आत्मीयता प्रदान गर्ने प्रयास गरिने बताउनुभयो ।

उहाँले आज उनीहरू विपत्तिका पीडित भए पनि भोलि यही देशका कर्णधार बन्ने भएकाले उनीहरूको हातमा कलम दिनु, आँखामा भविष्यको सपना जगाउनु तथा शिक्षित, संस्कारित र सक्षम नागरिक बनाउनु नै उनीहरूप्रति सच्चा अभिभावकीय भूमिका निर्वाह गर्नु भएको बताउनुभयो ।

“यस विषम परिस्थितिमा हामी सबै आफ्नो दायित्वबाट पन्छिने होइन, आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडित बालबालिकाको भविष्य निर्माणमा हातेमालो गर्नुपर्छ,” उहाँले भन्नुभयो। उहाँले यस कार्यमा सहयोग गर्न सबैमा हार्दिक आह्वानसमेत गर्नुभएको छ ।

एउटा बालकको शिक्षा बचाउनु भनेको एउटा परिवारको भविष्य बचाउनु हो र १० जना छात्रको भविष्य जोगाउनु भनेको देशका १० जना भावी कर्णधार तयार गर्नु भएको उल्लेख गर्दै उहाँले विपत्तिले उनीहरूबाट खोसेको अभिभावकको स्थान आफूहरूले पूर्ण रूपमा लिन नसके पनि उनीहरूको शिक्षा, संस्कार, सपना र भविष्यको सहयात्री बन्ने दृढ संकल्प रहेको बताउनुभयो।

गुरुकुलले रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा विपत्तिबाट प्रभावित सबैमा दुःख सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *