राजविराज प्रसूति प्रकरणः डिउटीमा रहेका कर्मचारी निलम्बन

Byसदाम हुसैन

२०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार

सर्लाही, २६ भदाै । सरकारले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरणमाथि छानबिन गर्न दुईवटा छानबिन समिति गठन गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले संसद्मा घटनालाई सरकारले गम्भीरता पूर्वक लिएको जानकारी दिँदै दुईवटा छानबिन समिति गठन गरेको जनाएकी हुन् । उनका अनुसार छानबिनका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले छुट्टा छुट्टै छानबिन समिति बनाएका छन् ।

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई सुत्केरी गराउन अस्पताल गए पनि पैसा नभएको भन्दै फिर्ता गरिएको थियो। भर्ना गर्न अस्वीकार गरेपछि उनले अस्पताल परिसरमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।

मन्त्री मेहताले घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रायले डा. अजय साहको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन भई राजविराज पुगिसकेको जानकारी दिइन् ।

साथै जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पनि छुट्टै छानबिन समिति गठन भइसकेको छ । घटनाको समयमा डिउटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई छानबिन प्रक्रिया अघि बढाइएको मन्त्री मेहताले संसदमा बताइन् ।

मन्त्रीका अनुसार अस्पतालबाट प्राप्त प्रारम्भिक विवरण अनुसार, गत भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेकी ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल आएकी थिइन् ।

प्रारम्भिक परीक्षणपछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिए पनि आवश्यक जाँचको रिपोर्ट नभएकाले थप जाँचको सुझाव दिइएको थियो ।

पासवाना र उनकी कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नबसी बाहिरिएको र बिहान ४ः४५ बजे अस्पतालको मूल गेट बाहिर प्रसूति भएको जानकारी प्राप्त भएको दाबी गरिन् ।

उनले प्रसूति पश्चात् आमा र नवजात शिशु पुनः प्रसूति वार्डमा आएपछि डिउटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटी आवश्यक स्याहार तथा उपचारका लागि अस्पतालमै रहन आग्रह गरे तापनि घर गएको दाबी गरिन् ।

मन्त्रालयले उक्त सूचना पाउनासाथ तत्काल खोजी गरी अस्पतालमा ल्याएर उपचार गर्न निर्देशन दिएको र हाल आमा र शिशु दुवैलाई खोजेर बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको मेहेताको भनाइ छ ।

अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारले जनाएको छ ।

मन्त्री मेहेताले छानबिन समितिको प्रतिवेदनका आधारमा कोही दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता संसदमा जनाइन्। उनले मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *