शव पहिचान गर्न खटिए एफबीआईका फरेन्सिक विशेषज्ञ

Byसदाम हुसैन

२०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार

सर्लाही, २६ भदाै । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि संयुक्त राज्य अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड नेपाली रुपैयाँ) भन्दा बढी मानवीय सहायता परिचालन गरेको छ ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छन् ।

भेटका क्रममा उनले बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकका साथै अन्य पीडितहरूको खोजी र उद्धारमा नेपाल सरकारले असाधारण तत्परता देखाएको भन्दै उनले आभारसमेत प्रकट गरिन् ।

अमेरिकी दूतावासका अनुसार अमेरिकाले उपलब्ध गराएको सहायतामा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तका उपकरण तथा विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीहरू समावेश छन् ।

नेपाल प्रहरीसँगै खटिए एफबीआईका फरेन्सिक विशेषज्ञ

बाढीमा परी ज्यान गुमाएका पीडितहरूको पहिचान गर्न र उनीहरूका परिवारलाई सही जानकारी उपलब्ध गराउन अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरू समेत नेपाल प्रहरीसँगै समन्वय गरेर काम गरिरहेका अमेरिकी दूतावासले जानकारी दिएको छ ।

आफ्ना नागरिकहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको बताउँदै दूतावासले आफ्ना आफन्तबारे जानकारी लिन चाहने परिवारलाई सहयोग गर्न कन्सुलर सेवा विस्तार गरिएको जनाएको छ ।

नेपालको नेतृत्वमा देशभर भइरहेको विपद् प्रतिकार्यमा टेवा पुर्‍याउन अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको कार्यवाहक राजदूत बोल्डिनले उल्लेख गरेकी छन् ।

आगामी दिनमा बाढीबाट भएको क्षति, विस्थापन र मानवीय आवश्यकताहरूको थप आकलन गर्दै अमेरिकाले नेपाल सरकारसँग निरन्तर निकट साझेदारी जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *