काठमाडौं, २८ भदाै । इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ । उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो ।
भर्गो ट्रान्सपोर्ट ८ नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो । अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन् ।
बन्जारमासिनस्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार, यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आएको थियो । त्यसपछि जहाजसँग कुनै सम्पर्क हुन सकेको छैन ।
उद्धार अधिकारीहरूका अनुसार, प्रारम्भिक जानकारीमा जहाजको अन्तिम लोकेसन जाभा सागरमा बन्जारमासिनको एउटा बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा देखिएको थियो ।
उद्धार टोलीहरूले उक्त क्षेत्रमा जहाजको तीव्र खोजी गरिरहेका छन् । हालसम्म जहाजमा सवार यात्रुहरू हताहत भएको कुनै जानकारी प्राप्त भएको छैन ।
यसअघि पनि इन्डोनेसियामा यसअघि पनि जहाज डुबेर कैयौँ ठूला दुर्घटनाहरू भइसकेका छन् । यी दुर्घटनाहरूमा मुख्यतया खराब मौसम, समुद्री आँधी, क्षमताभन्दा बढी यात्रु बोक्नु र सुरक्षा नियमहरूको उचित पालना नगर्नु जस्ता कारणहरू बाहिर आउने गरेका छन् ।
यसअघि सन् १९८१ मा ताम्पोमास-२ नामक यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा करिब ४३० जनाको मृत्यु भएको थियो ।
त्यस्तै, सन् २००६ मा खराब मौसमका कारण सेनोपाती नुसन्तारा नामक फेरी जाभा सागरमै डुबेको थियो। सो दुर्घटनामा ४०० भन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए ।
सन् २००७ मा लेभिना-१ फेरीमा आगलागी भएर डुब्दा ५० भन्दा बढीको ज्यान गएको थियो। सन् २०१८ मा लेस्तारी माजु फेरी दक्षिण सुलावेसी नजिकै डुब्दा ३६ जनाको मृत्यु भएको थियो ।
इन्डोनेसियामा किन बढी हुन्छ समुद्री दुर्घटनाको जोखिम ?
इन्डोनेसियामा १७ हजारभन्दा बढी टापुहरू छन् र करिब २८ करोड जनसङ्ख्याको ठूलो हिस्सा विभिन्न टापुहरूमै बसोबास गर्छ ।
यस्तो अवस्थामा विभिन्न सहर र टापुहरूबीच आवतजावत गर्न फेरी र यात्रुवाहक जहाज नै प्रमुख साधन हुन्। हरेक दिन ठूलो सङ्ख्यामा मानिसहरूले यसैमार्फत यात्रा गर्छन् ।
यो देश उष्णकटिबन्धीय क्षेत्रमा पर्ने भएकाले यहाँ भारी वर्षा, हुरीबतास र उच्च समुद्री छालको जोखिम सधैँ रहन्छ। यस्तो मौसममा साना र मझौला आकारका जहाजहरूलाई यात्रा गर्न निकै कठिन हुन्छ ।
यसबाहेक, विगतमा भएका धेरै दुर्घटनाहरूको अनुसन्धान गर्दा क्षमताभन्दा बढी यात्रु चढाउने, सुरक्षा उपकरणको कमी र सुरक्षा मापदण्डहरूको उचित पालना नगर्ने जस्ता कमजोरीहरू पनि सतहमा आएका छन्। यद्यपि, हरेक दुर्घटनाको कारण भने फरक-फरक हुन सक्छ ।
