देवानगञ्ज घटनाका घाइतेको शरीरबाट निकालियो गोली

Byसदाम हुसैन

२०८३ आश्विन ४, आइतवार २०८३ आश्विन ४, आइतवार २०८३ आश्विन ४, आइतवार

सर्लाही, ०४ असाेज । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ ।

मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए । घटना लगतै उनलाई नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो ।

आइतबार बिहान शल्यक्रिया गरेर उनको शरीरबाट गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार शरीरबाट निकालिएको गोली कटुवा पेस्तोलको जस्तो देखिन्छ । तर, गोलीको परीक्षणपछि मात्रै कुन हतियारबाट प्रहार भएको भन्ने खुल्नेछ ।

यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो। हतियार र गोलीको खोका नभेटिएका कारण प्रहरीले शल्यक्रियापछि मात्रै गोली लागेको हो वा अन्य कुनै हतियार प्रयोग भएको हो भन्ने विषय खुल्ने बताएको थियो । शल्यक्रिया गरी चिकित्सकको टोलीले गोली निकालेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाउँ नजिकै गोली चलेपछि स्थानीयले विष्णु र जयकृष्णलाई नियन्त्रणमा लिएर रुखमा बाँधेका थिए। प्रहरी पुगेपछि स्थानीयले उनीहरूलाई जिम्मा लगाएका थिए ।

उनीहरूले प्रयोग गरेको मोटरसाइकलमा आगजनी गरेका थिए । डीएसपी खड्काले घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

शनिबार बेलुका आफ्ना छिमेकी विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका बेला निरजमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहार गर्ने समूहले विवेकमाथि पनि हातपात गरेको थियो । ‘पुरानो रिसिइबीका र युवतीको विषयलाई लिएर पनि विवाद थियो भन्ने छ,’ उनले भने,‘ यस विषयमा अनुसन्धान गरिरहेका छौं ।’

गत साउन १० गते देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समूहबीचको विवादमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । सात जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *