सर्लाही, ०७ असाेज । अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा यस्तो घोषणा गरेकी हुन् ।

भेटमा उनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरिन् ।

अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन डलर बराबरको स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ । ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ ।

त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा थप ८ मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ ।

बाढीपछिको विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि घोषणा गरिएको छ ।

यो घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापना प्रयासमा अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकाले नेपाल सरकारसँग सहकार्य गर्दै आवश्यकता पहिचान गरी थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *