सर्लाही, १२ असोज । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते हुने भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डिपी अर्यालले सभापतिको निर्वाचन हुने जानकारी गराए ।
उनले भने, ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम यही असोज १४ गते दिनको २ बजेको समय तोकेको व्यहोरा जानकारी गराउँदछु ।’
यसअघि असोज ५ गतेको बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।
समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।
यो जानकारीसँगै प्रतिनिधि सभाको बैठक आजै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरे ।
