पहिरोले थुनिएको मर्स्याङ्दी खोल्न दुई डोजर परिचालन, ब्लाष्टको तयारी

Byसदाम हुसैन

२०८३ आश्विन १३, मंगलवार २०८३ आश्विन १३, मंगलवार २०८३ आश्विन १३, मंगलवार

सर्लाही, १३ असोज । मनाङ सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी थालेको छ ।

ब्लास्टका लागि मंगलबारदेखि दुईवटा डोजर परिचालन गरी पहिरोको लेदो र ढुंगा पन्छाउन थालिएको छ ।

बाढी र पहिरोको जोखिम बढेपछि चामेका स्थानीय बासिन्दाले शनिबार रातिदेखि नै घर छाड्न थालेका थिए । केही स्थानीयले रात जंगलमा बिताएका थिए ।

त्यसको भोलिपल्ट आइतबार दिउँसो चामे हुँदै मर्स्याङ्दी नदीमा मिसिने ठाडो खोलामा आएको बाढी र पहिरोसँगै ठूलो मात्रामा लेदो र ढुंगा खसेपछि मस्र्याङ्दी नदी थुनिएको थियो । त्यसपछि आइतबार रातभरि पनि पहिरो खस्ने क्रम जारी रहेको थियो ।

असोज ९ देखि ११ गतेसम्म लगातार परेको वर्षाले ठाडो खोलामा बाढी र पहिरो ल्याएको थियो। त्यसबाट चामेका केही घर तथा होटलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पहिरोका कारण मर्स्याङ्दी नदीको बहाव रोकिएपछि चामे क्षेत्रमा पानी जमेर ताल बनेको छ। तालको पानी बढेपछि मोटरेबल पुलसहित केही होटल र घर डुबानमा परेका छन् ।

नदीको बहाव केही खुले पनि पानीको निकास अझै सहज हुन सकेको छैन । त्यसैले प्रशासनले पहिरो पन्छाएर नदीको बहाव थप सहज बनाउने र आवश्यक परे ब्लास्ट गरेर थुनिएको भाग खोल्ने तयारी गरेको हो ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ब्लास्ट गर्न पहिरोभित्र रहेका ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ। त्यसका लागि मंगलबारदेखि दुईवटा डोजरले लेदो र ढुंगा पन्छाइरहेका छन् ।

‘ब्लास्ट गर्न लेदोभित्र ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘डोजर लगाएर लेदो पन्छाउँदैछौं। ब्लास्ट गर्ने तयारीस्वरूप अहिले दुईवटा डोजरले पहिरोको लेदो हटाइरहेका छन् ।’

प्रशासनले पहिरोको अवस्था र नदीको बहावको निगरानी गर्दै ब्लास्टका लागि उपयुक्त स्थान पहिचान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *