सर्लाही, १३ असाेज । गत एक महिनाको अवधिमा घटेका दुईवटा ठूला प्राकृतिक विपद्का घटनामा परेर १४ सय २७ जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ नागरिक बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी लगायतका नदी क्षेत्रमा आएको आकस्मिक बाढी र असोज ८ देखि ११ गतेसम्म चार दिन चलेको लगातारको अविरल वर्षाका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले दिएको जानकारी अनुसार गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीले भोटेकोशी, त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा ठुलो तबाही मच्चाउँदा १३ सय ९९ जनाको मृत्यु भएको छ भने अझै ४ हजार ८९ जना सम्पर्कविहीन छन् ।
उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ वटा स्थानीय तह प्रभावित बनाएको थियो । फेला परेका शवमध्ये १०३ वटाको मात्र पहिचान खुलेको छ भने पहिचान हुन नसकेका १२ सय ३० वटा शव विधिपूर्वक व्यवस्थापन गरिएको छ ।
बेपत्ता नागरिकहरूको खोजी र पहिचानका लागि प्रहरी र प्रयोगशालाहरूले मृतकका आफन्त र शवबाट संकलन गरिएका ३ हजारभन्दा बढी नमुनाहरूको डीएनए परीक्षण गरिरहेका छन् ।
यसैगरी, बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण असोज ८ गतेदेखि सुरु भएको भारी वर्षापछिको बाढी र पहिरोमा पर थप २७ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता र ७ जना घाइते भएका छन् ।
यस विपद्बाट देशभरका ५१३ वटा घटनामा १०६५ परिवार प्रभावित भएका छन् भने जोखिमयुक्त क्षेत्रका करिब २ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।
