सर्लाही, १३ असाेज । सर्लाहीमा ह्वाट्सएपमार्फत अश्लील भिडियो रेकर्ड गरी त्यसैका आधारमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बसबरिया गाउँपालिकाका शिवचरण मुखिया लाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीका अनुसार चिनजान तथा नातासम्बन्धका आधारमा विश्वासमा पारी मुखियाले एक महिलासँग ह्वाट्सएपमार्फत पटक-पटक भिडियो कल गरेका थिए ।
भिडियो कलका क्रममा भएका अश्लील कुरा तथा गतिविधि रेकर्ड गरी त्यसलाई दुरुपयोग गर्दै ब्ल्याकमेलिङ गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुखियाले महिलालाई विभिन्न दबाब तथा धम्की दिई शरीरका लुगा हटाउन बाध्य बनाएको र सो क्रममा रेकर्ड गरिएको अश्लील तस्वीर, भिडियो तथा कुराकानी मोबाइलमा सुरक्षित राखेको पाइएको छ ।
उक्त विद्युतीय सामग्री पीडित महिला तथा उनका आफन्तलाई पठाएको भन्ने व्यहोराको जाहेरी प्रहरीमा परेको थियो ।
जाहेरीका आधारमा मुखियाले तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने र पीडितका परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिँदै ५० हजार रुपैयाँ समेत माग गरेको छन् ।
प्रहरीले मुखियालाई विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधमा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट सात दिनको हिरासत अनुमति लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले निजी तथा अश्लील तस्वीर वा भिडियोको दुरुपयोग गरी सार्वजनिक गर्ने धम्की दिने वा त्यस्ता सामग्रीका आधारमा रकम माग गर्ने कार्य कानुनबमोजिम दण्डनीय रहेको जनाएको छ ।
प्रहरीले अश्लील तस्वीर वा भिडियो प्राप्त भएमा सेयर, फर्वार्ड, लाइक वा सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ। त्यस्ता सामग्री वा धम्कीसम्बन्धी ह्वाट्सएप च्याट, रेकर्डलगायत प्रमाण सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

