सर्लाही, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन् । यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन् ।
 
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराए ।
 
‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ ।’
 
भ्रमणको मितिबारे सोधिएको प्रश्नमा उनले थपे, ‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन । तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *