सर्लाही, १४ असोज । यही ८ असोजदेखि चार दिनसम्म भएको वर्षा र नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका– १ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा क्षति पुगेको छ । बाढीले कक्षाकोठाभित्र लेदो–माटो भित्र्याएपछि पठनपाठन ठप्प भएको छ ।
बाढीले ल्याएको माटो जमेकाले साबेलले पन्छाउन पनि धौ–धौ परेको छ । विद्यालय आसपासका स्थानीय आफ्नै घरभित्र पसेको हिलो सोहोर्न व्यस्त रहेकाले ज्याला दिएर काम गराउन मजदुरसमेत पाउन सकेको छैन । बाह्य सहयोग नभई शिक्षिका, कर्मचारीले मात्र सरसफाइ गर्दा समय लाग्ने देखिएको छ ।
समस्या समाधानका लागि वडा कार्यालय, भरतपुर महानगरपालिका, महानगरको शैक्षिक शाखा तथा वीरेन्द्र क्याम्पसअगाडिको सेनाको ब्यारेकलगायत सम्भावित सबै निकायमा पुगेर सहयोगको याचना गरिएको छ । तर, सबै निकायबाट आश्वासन मात्र प्राप्त भएको र अहिलेसम्म उद्धार वा सरसफाइका लागि कसैले पनि मानिस नपठाएको विद्यालयको गुनासो छ । महानगरपालिकाबाट आएको दमकलले दुई दमकल पानी हालेर विद्यालयको माथिल्लो पेटी सफा गरे पनि कक्षाकोठा अझै हिलाम्मे छन् ।
२०७१ मंसिरदेखि सोही विद्यालयमा सेवारत प्रधानाध्यापक शान्ता अधिकारीका अनुसार विद्यालयले हरेक वर्ष बाढीको समस्या भोग्दै आएको छ । यसअघिका बाढीले कक्षा ३ को भुइँ भासिएर खोक्रो बनेको छ, जहाँ पूर्व शिक्षिका गायत्री शर्मा कक्षाकोठामै लडेकी थिइन् ।
उक्त कक्षाकोठा अझै पनि जोखिमपूर्ण अवस्थामै रहेकाले बालबालिकालाई भित्र राखेर पढाउनसक्ने अवस्था छैन । दसैँ नजिकिँदै गर्दा विद्यालय बन्द भएपछि अभिभावकहरू बच्चाको पढाइ बिग्रने चिन्तामा छन् भने केही विद्यार्थी विद्यालयको मायाले आफैँ हिलो फाल्न कस्सिएका छन् । यो विद्यालयमा १२० जना विद्यार्थी अध्ययनरत छन् ।
