सर्लाही, १६ असाेज । जितिया नजिकिँदै गर्दा मिथिलाका भान्सामा एउटा अनौठो बासना आउन थाल्छ । मडुवाको रोटीको, मसला लागेको स्थानीय माछाको, र वर्षौँदेखि आमाहरूले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको एउटा मौन परम्पराको बासना ।
बाहिर पर्वको तयारी चलिरहेको हुन्छ, भित्र चुल्होमा माछको झोल उम्लिरहेको हुन्छ । रोटी सेक्ने हातलाई भोलिदेखि एक थोपा पानी पनि नपिई व्रत बस्नुपर्ने हुन्छ । जितियाका लोकगीतहरूमा पनि मडुवाको रोटी र माछाको चर्चा अनिवार्य जस्तै सुनिन्छ ।
विगतलाई फर्केर हेर्दा, मिथिलाका ग्रामीण भेगमा मडुवा सजिलै उब्जने अन्न थियो । सम्पन्न वर्गका लागि गहुँ र चामल हुन्थ्यो भने विपन्न परिवारको मुख्य खाना यही मडुवा नै हुन्थ्यो ।
त्यसैगरी पोखरी वा खोल्साखोल्सीमा सहजै पाइने ट्याङ्ग्रा, पोठी, गरै, झिंगे जस्ता साना माछाहरू विपन्न वर्गको पहुँचमा हुन्थे । ठूला पोखरीहरूका पालिने रँहु, भाकुर ठूलाबडाका थालमा पुग्थे । जितिया आउँदा धनी–गरिब सबैका घरमा ट्याङ्ग्रा वा स्थानीय माछा र मडुवाको रोटी पाक्थ्यो ।
अघिल्लो दिन माछ–मडुवा खाएर सुरु हुने यो कठोर निर्जल व्रतको दिन आमाहरू घिरौँलाको पातमा पूजा सामग्री सज्याउँछन् । पिना, सख्खर र तेल चढाएर पितृ र जितवाहनको पूजा गरिन्छ । घरभरि उत्सवको उत्साह पनि हुन्छ र श्रद्धाको गम्भीरता पनि हुन्छ ।
सामान्यतः धार्मिक व्रतको अघिल्लो दिन मांसाहारलाई वर्जित वा अस्वाभाविक मानिन्छ । तर जितियाको कथा र परम्परा अलग्गै छ । मिथिलाञ्चलमा जितियाको अघिल्लो दिन माछा र मडुवा खानुलाई सांस्कृतिक रूपमै स्वीकार गरेका छन् । यसलाई लोकबोलीमा ‘माछ–मडुवा’ भनिन्छ ।
