सर्लाही, १८ असाेज । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्यो ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पौडेलले ४१ करोड ९४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो ।
विशेष अदालतले उनको ४१ करोड ९४ लाख रुपैंया बराबरको सम्पत्ति जफत हुने अनि त्यति बराबरको रकम जरिबाना हुने फैसला गरेको हो ।
गैरकानूनी सम्पत्ति आर्जनमा अहिलेसम्मकै ठूलो बिगो र जरिबाना ठहर गरेको विशेष अदालतले पौडेललाई साढे दुई वर्षमात्रै कैद सजाय हुने ठहर्याएको छ ।
उनीमाथि भ्रष्टाचारको आरोपमा दुई वर्ष अघि विशिष्ट श्रेणीको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा थप छ महिना कैद सजाय ठहर गरेको हो । हाल थुनामै रहेको र ठूलो मात्रामा बिगो तथा जरिबाना तोकिएकाले उनी थुनामै रहेर फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।
गैरकानूनी सम्पत्तिआर्जनको मुद्दा चल्नुअघि पौडेलमाथि तीनवटा भ्रष्टाचार मुद्दा दायर भइसकेका थिए । अख्तियारले २०८० सालमा सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी मुद्दा दायर गरेको थियो ।
अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी पौडेलविरुद्ध दोस्रो मुद्दा दायर भएको थियो । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भनी पौडेलसहित ६ जनाविरुद्ध तेस्रो मुद्दा दायर गरेको थियो ।
गैरकानूनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दापछि पौडेल र तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याल विरुद्ध अख्तियारले अर्को मुद्दा पनि दायर गरेको थियो ।
के आरोप थियो ?
अख्तियारले ९ जेठ, २०८१ मा पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारको दाबीमा, पौडेल र उनको नातेदारको खातामा शंकास्पद रुपमा रकम जम्मा भएको थियो भने आम्दानीको तुलनामा निकै अस्वभाविक रकम देखिएको थियो ।
सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको थियो । सूचना प्रविधिको क्षेत्रमा काम गर्दा आपूर्तिकर्ताबाट कमिसन लिएको देखिएको, त्यो रकम विभिन्न व्यक्तिको नाममा परिचालन भएको अख्तियारको दाबी थियो ।
अख्तियारले नेपाल बाहेक सिंगापुरको युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकाको खातामा जम्मा भएको पौडेलको रकम पनि भ्रष्टाचारबाट आर्जित भएको आरोप लगाएको थियो । पौडेल करिब ५ वर्ष सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका थिए । त्यसअघि उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इञ्जिनियर थिए ।
सुरक्षण मुद्रण केन्द्रले ठेक्कामा काम गरेका विभिन्न कम्पनीहरूसँगको कारोबारमा संलग्न विदेशी कम्पनीहरूसँग पौडेलले घुस लिएको अख्तियारको आरोप थियो । अख्तियारले सिंगापुरमा मात्रै विकल पौडेलको नाममा २८ करोड ९५ लाख रुपैयाँ रहेको दाबी गरेको छ ।
आम्दानीलाई वैध देखाउन पौडेलले सिंगापुरको बैंकोटेक र इन्स्टासेफ नामक कम्पनीमा परामर्शदाताको रुपमा नियुक्ति लिएको कागजात तयार पारेका थिए ।
पौडेलमाथि अनुसन्धान हुँदा ६२ करोड १९ लाख भ्रष्टाचार गरेको खुलेको, तर खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको भन्दै अख्तियारले लुकाइएको १७ करोड ६६ लाख बराबरको सम्पत्ति जफत गर्न माग गरेको थियो ।
