जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न

Byसदाम हुसैन

२०८३ आश्विन २६, सोमवार २०८३ आश्विन २६, सोमवार २०८३ आश्विन २६, सोमवार

सर्लाही, २६ असाेज । सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सरोकारवालालाई दाबी पेस गर्न २१ दिने सूचना निकालेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बक्यौता र दायित्व फरफारकका लागि सूचना जारी गरिएको हो ।

मन्त्रिपरिषद्ले २०८२ साल वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले डीडीए सम्पन्न गरेको हो । 

कारखानाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कारोबार गर्ने ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई प्रमाणसहित दाबी पेस गर्न भनेको छ ।

‘कुनै निकायबाट भएको फैसला वा निर्णयबमोजिम लिनदिन पर्ने हरहिसाब भएमा’, कारखानाको सूचनामा भनिएको छ, ‘जग्गा रोक्का, बिमा वा कर्मचारी सेवा सुविधासम्बन्धी कुनै दाबी भएमा २१ दिनभित्र सम्पर्क गर्नुपर्नेछ ।’ 

यसबाहेक उद्योगलाई तिर्न वा बुझाउन बाँकी बक्यौता भएमा पनि तोकिएको समयभित्रै सरोकारवाला व्यक्ति वा संस्थाले सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ । तोकिएको म्यादभित्र दाबी पेस नभएमा कानुनअनुसार अघि बढ्ने चेतावनी कारखानाले दिएको छ। 

कारखानाले प्रस्ट पारेको छ, ‘उल्लिखित समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइनेछ ।’ म्याद गुज्रेपछि उद्योगउपर कसैको पनि कुनै दाबी नलाग्ने सूचनामा जनाइएको छ । 

दाबी पेस गर्नका लागि धनुषाको जनकपुरस्थित उद्योग स्थलमा सम्पर्क गर्न सकिनेछ। यसैगरी ९८४५१०५००८ नम्बरको फोन वा तोकिएको इमेल ठेगाना इपिडिभिजनएमओआइसिएस एट जिमेल डटकममार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *