काठमाण्डाै, २६ असाेज । शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार संकटकाल घोषणा गरेको छ ।
अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति भएको छ । २७ जना घाइते भएका छन् ।
शुक्रबार ७ दशमलव ७ र ६ दशमलव ६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि केन्द्रविन्दु नजिकका भवन भत्किएका थिए। भूकम्पका कारण मध्यअमेरिकी देशका विभिन्न भागका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
भूकम्पविद्ले ५ दशमलव ८, ५ दशमलव ५ र ५ दशमलव २ म्याग्निच्युडका परकम्पसहित १०० भन्दाबढी परकम्प रेकर्ड गरेका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प मध्य प्रान्त हेरेराको दुर्गम बस्ती पितालोझा अरिबाबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित थियो । १० किलोमिटर गहिराइमा गएको उक्त भूकम्प छिमेकी देश कोलम्बियामा महसुस गरिएको थियो ।
राष्ट्रपति कार्यालयका मन्त्री जुआन कार्लोस ओरिलाकले राजधानी पानामा सिटीमा आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरेका हुन् । उनले भूकम्पबाट घर, विद्यालय, स्वास्थ्य केन्द्र, सडक र होटलमा क्षति भएको जानकारी दिए ।
राष्ट्रिय नागरिक सुरक्षा प्रणालीकी उपनिर्देशक मालिजी रिभेराले सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेका २७ जनाको विवरण प्राप्त भएको बताए ।
