सर्लाही, ३० असोज । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित संग्रामपुर हुलाकी सडक खण्डको बाँके पुलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् ।
आज दिउँसो करिब १२ बजे महोत्तरीबाट सर्लाहीको मलंगवातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०६ बीएक्स ०४३५ को कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक महोत्तरीको गौशाला नगरपालिका–५, जिरोमाइल निवासी नागेन्द्र साहका करिब २४ वर्षीय छोरा विकल साह गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि महोत्तरीस्थित जानकी एकेडेमी लगिएकोमा चिकित्सकले ईसीजी परीक्षणपछि मृत घोषणा गरेका थिए ।
त्यस्तै, कारमा सवार गौशाला नगरपालिका–४ निवासी करिब २२/२३ वर्षीय शम्भुनाथ कुमार साह र सोही स्थानका करिब २२/२३ वर्षीय शुभम कुमार शर्मा सामान्य घाइते भएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी नायब निरीक्षक बालकृष्ण फुयालको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाही ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र कार घटनास्थलमै रहेको जनाइएको छ ।
