दिगो खाद्यसुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : कृषिमन्त्री चौधरी

Byसदाम हुसैन

२०८३ आश्विन ३०, शुक्रवार २०८३ आश्विन ३०, शुक्रवार २०८३ आश्विन ३०, शुक्रवार

सर्लाही, ३० असाेज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोकमरी अन्त्य गर्दै दिगो खाद्यसुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

उनले खाद्य अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न विभिन्न कानुन, नीति तथा योजनामार्फत सरकारले काम गरिरहेको उल्लेख गरेकी हुन् ।

४६औँ विश्व खाद्य दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले नेपालको संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्यसम्बन्धी हक सुनिश्चित गर्न कृषि विकास रणनीति, खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, सोह्रौँ आवधिक योजना र खाद्य प्रणाली रूपान्तरणको रणनीतिमार्फत सरकारले विभिन्न कार्यक्रम अघि बढाएको बताइन् ।

कृषि भूमिको संरक्षण, उपलब्ध भूमिस्रोतको उचित उपयोग तथा नवीन सोच, अनुसन्धान र प्रविधिको विस्तारमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै नागरिकलाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै भावी पुस्ताका लागि पर्याप्त र पोषणयुक्त खाद्य प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

विश्वव्यापी रूपमा प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस यस वर्ष ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ राष्ट्रिय नाराका साथ मनाइँदै छ ।

विश्व भोकमरी सूचकांकमा नेपाल १४.८ अंकसहित ७२औँ स्थानमा रहे पनि पाँच वर्षमुनिका करिब २६ प्रतिशत बालबालिकामा पुड्कोपन देखिनुले पोषण सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको मन्त्री चौधरीले उल्लेख गरेकी छिन् ।

उनले जलवायु परिवर्तन, भोटेकोशी बाढीजस्ता प्राकृतिक विपत्, कृषिभूमिको क्षयीकरण र आयातको बदलिँदो प्रवृत्तिले नेपालको खाद्यसुरक्षा तथा खाद्य सम्प्रभुतामा चुनौती थपेको बताइन् ।

खाद्यसुरक्षा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता चुनौतीको सामना गर्न सरकारले जलवायु अनुकूलन प्रविधि, स्थानीय तथा रैथाने बालीको संरक्षण, डिजिटल कृषि र आधुनिक नवप्रवर्तनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

दिगो खाद्य प्रणाली निर्माण र खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूतिका लागि तीनै तहका सरकार, निजी क्षेत्र, सहकारी, विकास साझेदार र कृषकबिच सहकार्य आवश्यक रहेको मन्त्री चौधरीले बताएकी छन् ।

उनले खाद्यसुरक्षा सुनिश्चित गर्ने अभियानमा सबै पक्षको साझा प्रतिबद्धता र योगदानको अपेक्षा गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *