सर्लाही ०१ कार्त्तिक । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले)सँग सहकार्य गरी मधेस सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन् ।

यादवले एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने नीतिसमेत पार्टीले नलिएको र कुनै समझदारी पनि नभएको स्पष्ट पारेका छन् ।

उनले बेग्लै प्रसङ्गमा खिचिएको तस्बिर राखेर फेसबुक तथा सामाजिक सञ्जालमार्फत गलत र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

‘जनता समाजवादी पार्टी, नेपाल वर्तमान अवस्थामा नेकपा (एमाले)सँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरेको छ, न त कुनै नीति नै लिएको छ, न कसैसँग कुनै समझदारी नै गरेको छ,’ यादवले भनेका छन्, ‘तत्काल यो सम्भव पनि नरहेको अवस्था छ ।’

उनले कुनै सत्यता नभएका कपोलकल्पित, भ्रामक, पूर्वाग्रहपूर्ण र झुटा प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

यादवका अनुसार जसपा नेपालले हालसम्म सरकार गठनका लागि कुनै दाबी गरेको छैन । त्यस्तै, कुनै दलसँग समर्थन पनि नमागेको र कुनै पार्टीलाई समर्थन दिने वा नदिने विषयमा सम्झौता पनि नगरेको उनले स्पष्ट पारेका छन् ।

बेग्लै प्रसङ्गमा खिचिएको तस्बिरको दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको पनि यादवले बताएका छन् ।

नेकपा एमाले मधेस प्रदेशमा नयाँ गठबन्धन बनाउन लागेको छ। त्यसैका लागि एमालेका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *