जुम्लामा द्वन्द्वकालीन बारुद भरिएको पाइप विस्फोट हुँदा २ बालक घाइते

Byसदाम हुसैन

२०८३ कार्तिक २, सोमवार २०८३ कार्तिक २, सोमवार २०८३ कार्तिक २, सोमवार

सर्लाही, ०२ कार्तिक । जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ ।

आज सोमबार पाइप काट्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पाइप काट्ने क्रममा विस्फोट हुँदा दुई बालक घाइते भएका हुन् ।

उनका अनुसार पाइपभित्र धेरै समयअघि बारुद भरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । विस्फोटको वास्तविक कारण र पाइपभित्र रहेको पदार्थबारे भने अनुसन्धानबाट थप खुल्नेछ ।

स्थानीय तारा रोकायाका अनुसार दलबहादुर रोकायाका अन्दाजी १४ वर्षीय छोरा बलबहादुर रोकाया गम्भीर घाइते भएका छन्। विस्फोटमा उनको बुढीऔँलामा गम्भीर चोट लागेर छियाछिया भएको छ ।

गम्भीर घाइते बालकलाई सिंजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पुर्‍याइएको छ । अस्पतालमा उनको उपचार सुरु गरिएको छ ।

द्वन्द्वकालमा प्रयोग भएका विस्फोटक पदार्थ तथा बारुद भरिएका वस्तु लामो समयसम्म असुरक्षित अवस्थामा रहँदा यस्ता घटना हुन सक्ने जोखिम देखिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *