पौने ६ लाख मानिसले छाडिसके काठमाडौँ उपत्यका

Byसदाम हुसैन

२०८३ कार्तिक ३, मंगलवार २०८३ कार्तिक ३, मंगलवार २०८३ कार्तिक ३, मंगलवार

सर्लाही, ०३ कार्तिक । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् ।

अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा/व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् ।

दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले जानकारी दिए ।

दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ ।

विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ ।

यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।

दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए ।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *