सर्लाही, ०५ कार्तिक । सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा घाँटी काटिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।
हिजाे बुधबार स्थानीय लालबाबु राउतकी करिब १३ वर्षीया छोरी मौसम कुमारी राउत आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार बालिका बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट निस्किएकी थिइन् ।
बुधबार साँझ स्थानीयवासीले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार बालिकाको घाँटीमा धारिलो हतियारले काटिएको चोट देखिएको छ ।
गोडैता नगरपालिका–६ का वडाध्यक्ष सचिन्द्र महतोले बालिका बिहान उखुको पात काट्न खेतमा गएको र साँझ आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार बालिकाले उखुबारीमा केही उखुका पातसमेत काटेकी थिइन् ।
बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
