सर्लाही, ०९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका खेल देखाउन पोखरा एभेन्जर्सले दुई स्थानमा आधिकारिक फ्यान पार्क सञ्चालनमा ल्याएको छ । पोखरा र भक्तपुरमा आधिकारिक फ्यान पार्क सञ्चालनमा ल्याएको हो ।
पोखराको हल्लनचोकस्थित क्याम्पिड चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीको फ्यान पार्कमा सोमबारदेखि प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सकिनेछ । उद्घाटन दिन समर्थकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
फ्यान पार्कमा एनपीएलका सबै खेल ठूलो एलईडी स्क्रिनमा प्रत्यक्ष प्रसारण गरिनेछ । समर्थकले सामूहिक रूपमा खेल हेर्नुका साथै संगीत, खानपान, विभिन्न खेल गतिविधि र पारिवारिक क्षेत्रको सुविधा पनि पाउनेछन् ।
उद्घाटन दिनपछि फ्यान पार्कमा प्रवेशका लागि एक्सपेरियन्स कुपनको व्यवस्था गरिएको छ । कुपन प्राप्त गर्न कम्तीमा ४९९ रुपैयाँको खरिद गर्नुपर्नेछ ।
एकजनाले एकपटकमा बढीमा १० वटा प्रवेश बुक गर्न पाउनेछन् । टोलीको आधिकारिक एपमार्फत खेल तालिका, लाइभ अंकतालिका र खेलको नतिजाबारे अनुमान गर्ने सुविधासमेत उपलब्ध छ ।
