सर्लाही, १० कार्तिक । विराटनगरमा भारतीय नम्बर प्लेटको करिब २० लाख रुपैयाँ मूल्य पर्ने स्कार्पियो गाडी चालकले छाडेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारमा सोमबार उक्त गाडी फेला परेको हो । दक्षिणबाट उत्तरतर्फ आइरहेको गाडीलाई प्रहरीले रोक्न खोजेपछि चालक गाडी छाडेर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक डम्बर गिरीको कमान्डमा खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको हो ।
सेतो रङको महिन्द्रा स्कार्पियोमा भारतीय नम्बर प्लेट बीआर ११ पीए ४२५४ रहेको प्रहरीले जनाएको छ । गाडीको आवश्यक कागजात फेला नपरेपछि भन्सार छली गरी नेपाल भित्राइएको हुन सक्ने आशंका गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा पठाइएको छ ।
गाडीको इन्जिन नम्बर एसजेजी ४ सी १२२३४ र चेसिस नम्बर एमए१टीए२एसजेएक्सजी २ सी २७९०१ रहेको छ। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
